Kapilvastu, Nepal: डिभिजन वन कार्यालय कपिलवस्तु गौत्तमबुद्धले विश्व वातावरण दिवस २०७८ को अवसर पारेर बृक्षारोपण गरेको छ । “नयाँ सोच र सिर्जना प्राकृतिक प्रणालिको पुर्नस्थापना” भन्ने मुल उद्देश्यले बृक्षारोपण गरि शनिबार दिवस मनाइएको गाैतमबुद्घले जनाएको छ ।
डिभिजन वनले शनिबार घाट गद्दी क्षेत्रको सडक साइडमा ८१ वटा विभिन्न प्रजातिका विरुवाहरु रोपेको डिभिजन वन कार्यालय कपिलवस्तु गौत्तमबुद्धका प्रमुख दुर्गा बहादुर कार्कीले बताए । पर्यावरण सन्तुलित राख्न हरियाली हुनु पर्ने हरियालीका लागी खाली जग्गामा बृक्षारोपण गरि हराभरा बनाउनु आजको आवश्यकता रहेको जनाउँदै कार्कीले वातावरण दिवसको अवसरमा स्वच्छ वातावरणका बृक्षारोपण गरिएको जानकारी दिए ।
प्रमुख कार्कीका अनुसार प्रकृति माथिको मानिवय हस्तक्षेप र दोहनले वन विनास हुँदै मरुभूमिकरण र जमिन बन्जर बन्दै गइरहेको अवस्थामा बाढि पहिरो जस्ता प्राकृतिक विपत्तिको सामाना गर्नुपरेको बताए । वन विनासले पानीको सतह घट्दै जाँदा सुख्खा खडेरी जस्ता समस्या अहिले भोग्नु परेको उनले जनाए । पर्यावरण विग्रदै गएको अवस्थामा बृक्षारोपणले वातावरण सन्तुलन राख्न मद्दत पुर्याउने प्रमुख कार्कीले बताए ।
वातावरण सन्तुलन कायम गर्न र वन संरक्षणका लागि यस बर्ष डिभिजन वन कार्यालयले ३ लाख १९ हजार विभिन्न प्रजातिका विरुवाहरु उत्पादन गरेको बताइएको छ । घर वरिपरि लगाउन मिल्ने फलफूलका विरुवा, कार्यालय परिसरमा सुन्दरीकरणका लागि लगाउने मिल्ने, खाली क्षेत्रमा लगाउन मिल्ने विरुवाहरुको नर्सरी तयार भएको सहायक वन अधिकृत एजाज अन्सारीले बताए ।
विरुवाहरुको वितरण असार पहिलो साताबाट सुरु गरिने र सर्वसाधारणलाई सहज उपलब्ध गराईने समेत उनले बताए । कार्यालयहरुका लागि पनि इन्डोर प्लान्टहरु उत्पादन गरिएको बताउँदै अन्सारीले सरकारी कार्यालय, संचारगृहहरुलाई गमला सहित विरुवाहरु वितरण गरिने जानकारी दिए ।
राम अवतार चाैधरी
Be First to Comment