पूर्व मन्त्री चक्रपाणी खनाल (बलदेव) ले समग्र मधेस विकासका लागि माओवादी केन्द्रकाे नेतृत्वकाे खाँचो रहेकाे बताएका छन् । कपिलवस्तुकाे कृष्णनगरमा माैलाना मशहुद खाँ नेपालीकाे निवासमा आइतबार पार्टीका कार्यकर्ता सँगकाे भेटघाट तथा परिचयात्मक कार्यक्रममा मन्त्री खनालले यस्तो बताएका हुन् ।
पूर्व कृषि मन्त्री समेत रहेका खनालले माओवादी केन्द्रले मधेसकाे चाैतर्फी क्षेत्रमा विकास गर्न चाहेकाे बताउँदै केही अवसरवादी र पुँजीवादीकाे नेतृत्वले गर्दा मधेसमा विकासले फड्को मार्न नसकेकाे जिकिर गरे । केही नेताले मधेसकाे विकास गर्ने भन्दै झुठो आश्वासन बाँड्दै जनतालाई झुक्याएर मत लिई विजयपश्चात विकासकाे नाममा सिन्काे समेत भाँच्न नसकेकाे उनले आराेप लगाए ।
कृष्णनगरमा यस क्षेत्रकाे ठूलाे भन्सार नाका भएकाले औद्याेगिक र व्यावसायिक दृष्टिकोणले याे कृष्णनगर क्षेत्र नै मुख्यतः विकासमा प्रचूर सम्भावना रहेकाे पूर्व मन्त्री खानलले जनाए । “यहाँ अवसरवादी र पुँजीवादीका कारणले विकास प्रेमी, असल नेतृत्वले जीत्न नसक्नु यहाँका नागरिकका लागि दु:खद कुरा हाे” उनले भने ।
अहिले पुरै मुख्य सडक देखि लिएर भित्री गल्ली, बाटो धुलैधुलाे छ, वर्षामा हिलैहिलो हुन्छ” खनालले थप भने । हामीले चाहे यस क्षेत्रमा तीव्र गतिमा विकास गर्न सक्छाैँ, तर अब यस क्षेत्रमा चाैतर्फी विकास र परिवर्तनका निम्ति माओवादीकाे नेतृत्वकाे अवश्यकता देखिएकाे कुरामा उनले जाेड दिए । यसै क्रममा शिक्षा बिना कुनै पनि समुदाय अगाडी बढ्न नसक्ने बताउँदै पछाडी परेका र मुस्लिम समुदायलाई शिक्षाकाे मूलधारमा लैजाने र मुस्लिम गर्ल्स शैक्षिक युनिभर्सिटी स्थापनाका लागि सरकारसँग पहल गर्ने आश्वासन समेत खानलले व्यक्त गरे ।
यसैबीच लुम्बिनी प्रदेश मदरसा बाेर्डका उपाध्यक्ष माैलाना मशहुद खाँ नेपालीले समग्र सदरसाकाे शैक्षिक अवस्थाकाे बारे जानकारी गराए । पहिले भन्दा अहिले मदरसाहरूमा पनि धेरै शैक्षिक सुधार भएकाे बताउँदै भाैतिक पुर्वधार देखि लिएर गुणस्तरीय शिक्षाका लागि माैलानालाई पनि सरकारी शिक्षक सरह मान्यता दिनुपर्ने भन्दै प्रदेश र केन्द्रीय सरकारसँग पहल जारी राखेकाे उनले बताए । अहिले मदरसाका विद्यार्थीका लागि खाजा नास्ता, पाठ्यपुस्तक र छात्रवृत्ति समेत उपलब्ध भएकाे उपाध्यक्ष खाँ नेपालीले जनाए । कतिपय मदरसाहरूमा भवन अभावले पठनपाठनमा समस्या सिर्जना भइरहेकाेले मन्त्री खनाल सँग उनले अनुराेध गरे ।
नेकपा माओवादी केन्द्र कृष्णनगरका नगर अध्यक्ष जावेद आलम खानले कृष्णनगरकाे राजनीतिक अवस्थाकाे समसमायिक विषयकाे बारेमा जानकारी गराउँदै माओवादी केन्द्र बलियो हुँदै गएकाे बताए । आगामी निर्वाचनमा माओवादी केन्द्रले बहुमतका साथ जीत सुनिश्चित हुने दाबी गरे । पार्टी सदस्यतालाई निरन्तरता दिँदै पार्टीका सम्पूर्ण क्रियाकलाप तथा गतिविधिलाई अगाडी सार्दै बढिरहेकाे नगर अध्यक्ष खानले बताए ।
भेटघाट कार्यक्रममा राष्ट्रिय मदरसा संघका अध्यक्ष डा. अब्दुल गनी अल्कुफी, राष्ट्रिय मदरसा संघका सदस्य माैलाना जहिर अहमद बरेलबी, माैलाना जाहिद अजाद, अब्दुल नूर, नगर सचिव विष्णु प्रसाद बन्जाडे लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।
Ram Abatar Chaudhary
Be First to Comment