पछिल्लो समय निकै चर्चामा रहेकाे शिवराज नगरपालिकाले नगरवासीकाे आवश्यकता पूरा गर्नमा व्यस्त रहेकाे छ । समुदायमा गरेकाे बाचा जनप्रतिनिधि लगायत नगरले स्थानीयस्तरमा रहेकाे समस्यालाई मध्यनजर गर्दै आवश्यकता क्रमशः पूरा गर्दै आएकाे देखिन्छ ।
चुनावी एजेन्डा बनाएकाे जनप्रतिनिधि जितेपछि प्रायः आफ्नाे स्वार्थमा लिप्त भएकाे कयौं घटनाहरु सुनिन्छन् । तर सरकारमा पुगिसके पश्चात् आम नगारिककाे पीडा सुन्ने नेता कमै मात्रमा हुन्छन् । निर्वाचनकाे बखत त्यहि समुदायस्तरमा गरेकाे बाचालाई कपिलवस्तुको शिवराज नगरपालिकाले सम्बाेधान गरेकाे छ ।
नगर लगायतका समुदायस्तरमा मानवीय तथा प्राकृतिक घटना बढ्दै गएकाे समस्यालाई नजरअन्दाज गर्नुका साथै स्थानीय वासीले विगत लामाे समयदेखि एम्बुलेन्स र दमकल माग गर्दै आएकाे सपना शिवराज नगरपालिकाले यस बर्ष भने पूरा गरेकाे छ । केहि दिन पहिले नगरपालिकाले एउटा दमकल र दुई वटा एम्बुलेन्स खरिद गरी संचालनमा ल्याएकाे जनाएकाे छ । नगरमा एम्बुलेन्स नहुँदा बिरामीहरुलाई धेरै रकम तिर्नुपर्ने बाध्यता रहेको थियो भने दमकल नहुँदा आगलागीका कारण वर्षेनी लाखौँको धनजन क्षति हुने गर्दथियाे ।
निर्वाचन पश्चात् आफूले दमकल र एम्बुलेन्स ल्याउन धेरै प्रयासपछि यस वर्ष भने सफल भएको नगरप्रमुख नेत्रराज अधिकारीले बताए । विभिन्न प्राविधिक कारणले गर्दा विगतका वर्षमा ल्याउन नसकिएको जनाउँदै अब नगरवासीहरुलाई सहज हुने उनले जनाए ।
हावाहुरीको समयमा अत्यधिक आगलागीका घटनाहरु हुने तर नगरमा दमकल नहुँदा अन्य तहको भरमा बस्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै नगरप्रमुख अधिकारीले भने; “अब फोन गर्न साथ दमकल घटना स्थलमा पुग्छ, एम्बुलेन्सले नागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह गर्नेछ र निम्न वर्गहरुको लागि विशेष छुट गर्ने योजना छ ।”
नगरले यस वर्षको योजनामा दमकल खरिदको लागि रु ८० लाख र एम्बुलेन्स खरिदको लागि रु ३२ लाख बजेट विनियोजन गरेको थियो । त्यसै अनुरुप दुई वटा एम्बुलेन्सलाई रु २१ लाख ५० हजार र दमकल रु ५५ लाखको लागतमा खरिद गरिएको प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले जानकारी दिए ।
कोरोनाका बिरामीहरुलाई निःशुल्क र अन्य बिरामीहरुको हकमा भने नगरपालिका निश्चित रकम निर्धारण गर्ने उनले बताए । अहिले एम्बुलेन्सको लागि दुई जना चालक र दमकलको लागि २ जना फायरमेन र एक जना चालक नियुक्तिको प्रकिृयामा अगाडि बढाइएको अर्यालले जनाए । दमकल संचालनको विषयमा भने कार्यपालिकामा छलफल पछि निर्णय गरिने बताइएकाे छ ।
नगरपालिकाले दमकल र एम्बुलेन्स खरिद गरेर जनतालाई बचाउने काम गरेको स्थानीय एक युवाले बताए । आम नागरिकको समस्यालाई मध्यनजर गर्दै आफूले नगरपालिकालाई पटक पटक दमकल र एम्बुलेन्स खरिद गर्नको लागि आग्रह गरिएको सुनाए । र उनले भने “नगरपालिकाले गरेको सकारात्मक कार्य प्रशंसायाेग्य छ ।”
राम अवतार चाैधरी
Be First to Comment