Press "Enter" to skip to content

कृष्णनगरमा झाडापखालाको प्रकोप घट्दै, बालबालिका बढि प्रभावित, News of Nepal

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखालाकाे प्रकाेप पछिल्लो समय घट्दै गएकाे छ । गत सोमबार साँझ करिब ५ जनामा देखिएको झाडापखाला क्रमश बढ्दै गएपछि अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ ।

झाडापखाला गाउँभरी नै फैलिएपछि कृष्णनगर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का बासिन्दा बढि प्रभावित हुँदै आएका छन् । झाडापखालाका बिरामी अस्पतालमा ह्वात्तै बढेसँगै शिवराज अस्पतालका डाक्टर मुकेश चाैधरी सहितको स्वास्थ्यकर्मी उपचारमा रातदिन खटेका छन् । चेतनाको अभावका कारण सरसफाईमा ध्यान नदिँदा तथा दुषित पानीका कारण झाडापखालाको प्रकोप बढेको स्वास्थ्यकर्मीहरूको भनाई छ ।

उनीहरुले बिरामीको जाँच तथा औषधी उपचार लगायतका आवश्यक स्वास्थ्य सेवा दिएका छन् भने कतिपय जटिल केशका बिरामी जिल्ला अस्पताल तौलिहवा र बुटवलमा रिफर गरेको अस्पतालका डाक्टर चौधरीले बताए ।

कृष्णनगर नगरपालिका वडा नम्बर ७ सुखरामपुरका अढाई बर्षीय आयान अली नाँउ झाडापखालाका कारण शिवराज अस्पतालमा भर्ना भए । उनका अभिभावकले ३ दिनदेखि पखाला लागेपछि नाँउलाई शनिबार अस्पताल ल्याएका थिए । अढाई बर्षीय नाँउलाई दिनको ६ पटक पखाला लाग्ने गरेको अभिभावकले बताए । अस्पतालले बिरामी आउना साथ औषधी उपचार गरेको छ ।

यस्तै कृष्णनगर नगरपालिका ८ की ५१ बर्षिय समशुन निशा शुक्रबार २ बजेदेखि पखालाबाट ग्रषित हुँदै भर्ना भइन् । अहिले केही अस्पताल भर्न भए देखि स्वास्थ्यमा सुधार भएकाे बताइन् । त्यसैगरी कृष्णनगर नगरपालिका-९, बहादुरगंजका ४ बर्षीया रन्जना काश्यपलाई शुक्रबार अस्पताल भर्ना गरियो । दैनिक ५/६ पटक झाडा पखाला लागेपछि उनका बाबु भरतलाल काश्यपले नजिकै रहेको शिवराज अस्पतालमा भर्ना गरी उपचार गराइरहेका छन् । उनलाई लगातार झाडापखाला सँगै बान्ता पनि आउने गरेकाले अभिभावक चिन्तित छन् । तर अहिले औषधी उपचार पछि बान्ता रोकिएको छ ।

kapilvastu pakhala news 2

रातदिन औषधी उपचारमा स्वास्थ्यकर्मी खटिएपछि ५ दिनपछि क्रमश झाडा पखालाका बिरामी कम हुदै गई नियन्त्रणमा आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए । आइतबार सम्म शिवराज अस्पतालमा झाडा पखालाका ६ सय ८८ जना बिरामी भर्ना भएकोमा ६ सय ३१ उपचार पछि डिस्चार्ज गरिएको अस्पतालले जनाएकाे छ । ४० जना बुटवल र तौलिहवा अस्पतालमा रिफर गरिएको थियो । झाडापखालाका कारण केहि दिन पहिले उपचारकै क्रममा निजी क्लिनिकमा २ जनाको ज्यान गएकाे छ ।

झाडा पखालाबाट बालबालिका बढि प्रभावित

झाडापखाला फैलिएको ५ दिनपछि अस्पतालमा बिरामीको संख्या भने क्रमश घटेको छ । शनिबार मात्र झाडा पखालाका बिरामी ६१ जना भर्ना भई उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ । आइबार मात्र १७ बिरामी भर्ना भएकोमा ११ जना बालबालिका रहेको पाइएको छ । उनीहरुलाई लगातार झाडा पखाला, ज्वाेराे र केहीलाई बान्ता हुने गरेको छ । तर बिरामीको अवस्था सामान्य बन्दै गएको अस्पतालले जनाएको छ ।

दुषित पानीका कारण झाडापखाला

गत सोमबार देखि कृष्णनगर नगरपालिकामा फैलिएको झाडा पखालाको मुख्य कारण दुषित पानी भएको तथ्य फेला परेको छ । पानीका ४ वटा परिक्षण गरिएको मध्ये टुयुववेलमा र नेपाल खानेपानी संस्थान बहादुरगंजले वितरण गरेको खानेपानीमा दिशाका किटाणु भेटिएको बताइएको छ । संस्थानले वितरण गरेको खानेपानीे सप्लाईको पानीको नमुना परिक्षणमा अत्यधिक व्याक्टेरिया (दिशाका किटाणु) देखिएको थियो । संस्थानले वितरण गरेको पानी नांगो आँखाले हेर्दै फोहोरो र धमिलो पना देखिएको परिक्षणका एक प्राविधिकले जनाए ।

गत बुधबार भुपु सैनिक खानेपानी वाणगंगामा परिक्षण गरिएको नमुनामा एक सय फुट तलको पानीमा शुद्धता देखिएको र ४० फिट बराबरको ट्युववेलमा १०० मिलिलिटर बराबर २ प्रतिशत व्याक्टेरिया देखिएको थियो । भने सप्लाईको धारामा अत्यधिक नगण्य व्याक्टेरिया देखिएको प्राविधिक धन बहादुर सोमैले बताए । त्यस्तैगरी सय फुटको ट्युववेलको नमुना पानी परीक्षणमा कुनै व्याक्टेरिया भेटिएन । खानेपानी संस्थानले वितरण गर्ने क्षेत्रहरु खासगरी कृष्णनगर नगरपालिका वडा नं. ५, ७, ८ र ९ वडाका बासिन्दा बढि झाडापखालाबाट ग्रसित छन् ।

यता संस्थानले वितरण गरेको पानी शुद्धता भएको विज्ञप्ती जारी गरेको छ । नेपाल खानेपानी संस्थान बहादुरगंजका कार्यालय प्रमुख रमेश मग्रातीकाे हस्ताक्षर भएकाे शुक्रबार जारी गरिएको एक विज्ञप्ती मार्फत संस्थानबाट वितरण गरेको सप्लाई क्षेत्रको पानीमा कुनै प्रदुषण र जिवाणु फेला नपरेको दावी गरिएकाे छ ।

झाडापखाला बिरामीको कोभिड परिक्षण

आइतबार शिवराज अस्पतालमा झाडा पखालाबाट प्रभावित भएका व्यक्तिको कोभिड परिक्षण गरिएको छ । झाडापखालाबाट प्रभावित भई अस्पतालमा भर्ना भएका बिरामीको कोभिड परिक्षण गरिएको छ । केही बिरामीमा कोभिडको सामान्य लक्षण देखिएपछि एन्टीजन विधीबाट कोभिड परिक्षण गरिएको अस्पतालका डाक्टर चौधरीले बताए । आइतबार सम्म एन्टिजन विधीबाट ३३ जनाको नमुना संकलन गरिएको मध्ये १ जना महिलामा पोजेटिभ देखिएको छ ।

प्रभावित क्षेत्रमा स्वास्थ्य विशेषज्ञ र महासंघको टोली एकैसाथ

गत साता देखि झाडापखाला प्रभावित क्षेत्र बहादुरगंजमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयको विशेषज्ञ टोली शनिबार आइपुगेको छ । शनिबार दिउसो स्वास्थ्य मन्त्रालय अन्तरगत इपिमिडियोलोजी, विश्व स्वास्थ्य संगठन सहितको विशेषज्ञ टोली शिवराज अस्पताल बहादुरगंज पुगेको छ । डाक्टर सहितको विशेषज्ञ टोलीले प्रभावित क्षेत्रको निरिक्षण, बिरामी भेटघाट, नमुना संकलन लगायतका काम गरेको स्वास्थ्य कार्यालय कपिलवस्तु प्रमुख हेमराज पाण्डेले बताए । मन्त्रालयबाट खटिएको ३ जनाको विशेषज्ञको टोलीले पानी र दिशाको नमुना संकलन समेत गरेको छ ।

त्यस्तै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ कपिलवस्तुको टोलीले पनि झाडा पखाला प्रभावित क्षेत्रमा पुगेर स्थलगत निरिक्षण गरेको छ । महासंघका अध्यक्ष राजेन्द्र विक्रम शाहको नेतृत्वले कृष्णनगर नगरपालिकाको शिवराज अस्पताल र प्रभावित क्षेत्रमा पुगेर जानकारी लिएको हो । टोलीले नगरपालिकाको बास र स्वास्थ्यकर्मीसँग छलफल गरेको छ । खानेपानी महासंघको टोलीले संस्थानले वितरण गर्ने सप्लाई पानीको च्याम्बरहरुबाट दुषित पानी मिसिन सक्ने भएकाले पनि यस्ता समस्या आउन सक्ने बताएको छ । विभिन्न संघसंस्थाले घरधुरीमा पुगेर सूचना संकलन र पानीको शुद्धताबारे सचेतना सुरु गरेका छन् ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *